काठमाडौँ । कर्मचारी सञ्चय कोषले सुधीर बस्नेतको कोहिनुर हिल्स हाउजिङको स्वामित्वमा राखेको जग्गा फेरि लिलामीमा राखेको छ । कोहिनुर हिल्स हाउसिजङको नाममा लिएको ऋण नतिरेपछि ललितपुरको इमाडोल वडा नं ४ स्थित कोषको नाममा दृष्टिबन्धक रहेको जग्गा र भवन लिलामीमा बिक्री पुनः खुला गरेको हो ।
बारम्बार ताकेता गर्दा पनि ऋण नतिरेपछि सञ्चय कोषले कोहिनुरको जग्गा र निर्माणाधीन भवनहरू बेचेर ऋण असुली गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । इमाडोलमा १० रोपनी ९ आना २ दाम जग्गा र त्यसमा निर्माणाधीन आवासीय भवन लिलामीमा बिक्री गर्न कोषले प्रक्रिया अघि बढाएको हो ।
जग्गा तथा निर्माणाधीन भवन खरिदका लागि कोषले २१ दिनभित्र बोलपत्र पेस गर्न भनेको छ । बोलपत्र स्वीकृत भएको ३० दिनभित्र सबै रकम कोषमा बुझाइसक्नुपर्ने छ । कोहिनुरले २३ करोड ७० लाख रुपैयाँमात्र ऋण लिएको थियो तर समयमै नतिर्दा उसको साँवा र ब्याजसमेत गरी १ अर्ब रुपैयाँ पुगेको कोषले जनाएको छ ।
यसअघि पनि २०७९ माघमा र २०८० भदौमा समेत कोहिनुरलाई लिलामीमा राखिएको थियो । सुरुमा बस्नेतले ऋण तिर्छु भनेपछि प्रक्रिया स्थगित गरिएकोमा भदौमा बोलकबोल खुलाउँदा पर्याप्त आवेदन नपरेको हो ।



