काठमाडौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई १ एक करोड रुपैयाँ भन्दा बढी अनुदान वितरण गरेको छ ।
सुन्तला र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधार, क्षमता बिस्तारका लागि कूल लागतको ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिएको हो । परियोजनाले आर्थिक वर्ष २०७७/७८ मा सुन्तला जोनमार्फत ६६ लाख १० हजार ७ सय ८६ रुपैयाँ र बङ्गुर जोनमार्फत ३६ लाख ५६ हजार ८ सय ९ रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ ।
कृषि अधिकृत विक्रम बस्यालले सुन्तला जोनमार्फत रु तीन लाख २५ हजार ५०० खर्च गरेर ५० प्रतिशत अनुदानमा २० हजार ७ सय बिरुवा वितरण गरेर १ हजार ३ सय ८० रोपनीमा सुन्तलाखेती बिस्तार गरिएको जानकारी दिए।
कृषि यान्त्रिकरण सहयोग कार्यक्रमअन्तर्गत ४० मिनिटेलर, दुई वटा ग्रासकटर, दुई वटा ह्याण्ड स्प्रेयर, २६ वटा पावर स्पेयर, ५६ वटा सिकेचर, ५६ वटा प्रुनिङ सअ र १७ डिजिटल काँटा खरिद गर्न ५० प्रतिशतका दरले १२ लाख ५७ हजार ४ सय ११रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । ८५ प्रतिशतका दरले कूल ५८ हजार ९ सय ४९ रुपैयाँ अनुदान सहयोगमा ३ गोठ सुधार, ८५ प्रतिशतका दरले २७ लाख ८० हजार ९ सय ३४ रुपैयाँ सहयोगमा २१ सिँचाइ आयोजना, ७५ प्रतिशतका दरले ७१ लाख ४१ हजार ६ सय २९ रुपैयाँ सहयोगमा पाँच नर्सरी स्रोत केन्द्र स्थापना भएको छ ।
सिगाना, बनौँ, भकिम्ली, दोसल्ले र पात्लेखेतमा नर्सरी स्रोत केन्द्र स्थापना भएको छ । मङ्गला माविमा प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालनमा रु तीन लाख तीन हजार ८६३ खर्च भएको छ । ४७५ प्लास्टिक क्रेट खरिद गर्न ५० प्रतिशतका दरले १ लाख ४२ हजार ५ सय अनुदान वितरण भएको छ । बेनी, बागलुङ नगरपालिका, जलजला, मङ्गला, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको ५२ वडामा सुन्तला जोन कार्यक्रम लागू भएको छ ।
यसैगरी इकाइमार्फत सञ्चालित बङ्गुर जोन कार्यक्रमअन्तर्गत १६ बङ्गुर फार्म तथा कृषकले विभिन्न शीर्षकमा ३६ लाख ५६ हजार ८सय ९ रुपैयाँ अनुदान पाएका नायब पशु सेवा प्राविधिक बलबहादुर ओलीले जानकारी दिए।



