काठमाडौं । नेपालमा हालसम्म करिब २९ लान जनसंख्याले खोप पाएको छ । हालसम्म २८ लाख ८८ हजार ३ सय ६० नागरिकले खोप लगाइसकेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए । यो आधारमा देशका करिब १५ प्रतिशत जनसंख्याले हालसम्म खोप पाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वका विषयमा जानकारी दिँदै उनले कोभिडविरुद्ध दीर्घकालीन र अल्पकालीन योजना सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
राज्यमन्त्री श्रेष्ठले लामो समयदेखि भौतिकरूपमा बन्द पठनपाठनलाई सञ्चालन गर्न २० वर्ष उमेरमाथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम तय गरिएको बताए । थप तीन करोडभन्दा बढी खोप किन्ने प्रक्रियामा रहेको र असोज मसान्तसम्म एक करोड आपूर्ति भइसक्ने पनि उनले जानकारी दिए ।
भारतबाट १० लाख कोभिशिल्ड खोप आउने
बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिडविरुद्ध कोभिशिल्ड चाँडै प्राप्त हुने जानकारी दिए ।
भारतको सेरम इन्सिच्युडलाई यसअघि २० लाख कोभिशिल्ड खोप आपूर्तिका लागि सरकारले रकम भुक्तानी गरेको थियो । तर, सेरमले १० लाख खोप मात्रै पठाएको छ । अब बाँकी १० लाख खोप पठाउन सो कम्पनी तयार रहेको उनले बताए ।



