काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरुको नयाँ मतभार तोकेको छ । २०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ ।
बुधबार बसेको आयोगको बैठकले प्रदेशसभा सदस्यको मभार ५३ र गाँउपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतभार १९ काष्म भएको आयोगले जनाएको छ । यसअघि प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तह जनप्रतिनिधिको मतभार १८ रहेको थियो । राष्ट्रिय तथ्यांक कार्यालयलाई आयोगले गरेको पत्रचारपछि उसले उपलब्ध गराएको जनसांख्यिक विवरण अनुसार मतभार फेरिएको आयोगले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डल (प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख) को मतभारको व्यवस्था रहेको छ । जसअनुसार मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणना अनुसारको कूल जनसङ्ख्यालाई आधार मानी कायम गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै आयोगले भनेको छ, ‘ हाल राष्ट्रिय जनगणना २०७८ सम्पन्न भै जनगणनाको प्रतिवेदन समेत सार्वजनिक भैसकेकोले सो प्रयोजनका लागि उक्त ऐन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम हुने गरी आयोगबाट मिति २०८० मंसिर ०६ गते निर्णय भएको छ।’
नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि आगामी फागुन २० गते समाप्त हुन लागेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।
साेही व्यवस्था अनुसार राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ ।



