काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन्।
तर एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेको हो।
पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको हो। निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।
‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्छ,’ आदेशमा भनिएको छ।
युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टा छुट्टै घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने बताएको थियो । त्यसपछि उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ ।




