झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । सुरुको डिजाइन अनुसारको पुल तयार भए पनि पुल निर्माणकै क्रममा खोलाको क्षेत्र विस्तार भएपछि अहिले पुलको लम्बाइ छोटो भएको हो ।
पुल निर्माण सम्पन्न भए पनि छोटो भएपछि बाँसको पुल बनाएर स्थानीय वारिपारि गर्न बाध्य छन् । बाँसको भाटाको पुलबाट खोला तर्दा पैदल एक जनाको १०, साइकल र मोटरसाइकलको ३० रुपैयाँ दस्तुर तिर्नुपर्छ । सिटी रिक्सा तथा टेम्पोले दुई सय रुपैयाँसम्म तिर्नु पर्छ । बाँसको पुल प्रयोग गर्नेबाट रकम उठाउन गाउँपालिकाले नै दुई लाख रुपैयाँमा ठेक्का लगाएको छ । बाँसको पुल भएर दैनिक पाँच सय जनाभन्दा बढीको ओहोरदोहोर हुने गरेको स्थानीय बताउँछन् ।
तत्कालीन मोरङ–सुनसरी पुल आयोजनाले २०६४ सालमा पुल निर्माणको ठेक्का लगाएको थियो । त्यसबेला कालिकारओसिए जेभीले १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा ठेक्का सकारेर निर्माणको काम सुरु गरेको थियो ।
धेरै दबाब दिएपछि पुल बने पनि सञ्चालनमा आउने अवस्थाको नबनेपछि समस्या बेहोर्नुपरेको झापा उद्योग वाणिज्य सङ्घ, गौरीगन्जका अध्यक्ष गैदार महतोले बताए। “पुल छोटो बन्यो तर खोला फराकिलो भयो । चार सय मिटर लम्बाइको खोलामा दुई सय पाँच मिटरको पुल बनेको छ । खोलाको बिचमा पुल देख्दा बाहिरबाट आउनेहरू त छक्क पर्ने गरेका छन्,” उनले भने ।



