काठमाडौँ । सूर्यको पूजा तथा उपासना गर्ने छठपर्व आजदेखि सुरु भएको छ । २ दिनसम्म सल्ने उक्त पर्वमा आज ब्रतालुहरुले साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिन्छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।
छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।
छठ पर्व बैदिक कालदेखि नै सुरु भएको पाइन्छ । सूर्य पुराणमा यससम्बन्धी चर्चा रहेको छ । जसअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्याले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित रहेको मान्यता रहदै आएको छ । विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ ।
छठ पर्वको वैज्ञानिक महत्व समेत रहेको छ । कार्तिक महिनामा सुर्य तुला राशीको तल्लो स्थानमा पर्ने हुनाले यसबाट नकारात्मक बिकिरण उत्पन्न हुने भएकाले यसको प्रभावलाइ नष्ट गर्नका लागी जलाशयमा बसेर अध्र्यको माध्यमबाट सुर्यको दर्शन गर्नाले पराबैजनी प्रकाशबाट जीवहरुको हानी नोक्सानी नहोस् भन्ने अभिप्रायका साथ सूर्य पूजाको रहस्य लुकेको छ ।
यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।



