काठमाडौं । भिजन लुम्बिनी उर्जाको आईपीओ बाँडफाँटको मिति तोकिएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ मंगलबार अथात् मसिंर ५ गते बाँडफाँट हुने भएको छ ।
कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९ सय १० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २ सय ८५ कत्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
अन्तिम दिनसम्म आईपीओमा ११ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार उक्त आईपीओमा ११ लाख ९४ हजार ८ सय २० जनाले १ करोड ३५ लाख ७६ हजार १ सय ६० कित्तका लागि आवेदन दिएका हुन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले प्रबर्धन गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।



