काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यसैगरी, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५ सय कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५ सय बराबरको ६८ हजार ७ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा मंसिर १३ गते हुनेछ भने ढिलोमा मंसिर २४ गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।



