काठमाडौं । करिब ५ वर्षपछि फेरि ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जमा देखिएको छ । करिब २२ जनाको ज्यान लिइसकेको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ ।
हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ ।
उनले भने, “हात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि हात्तीको नियन्त्रणका लागि प्राविधिकसहितको दुईवटा टोली परिचालन गरिएको छ ।” हात्ती देखिएमा मात नियन्त्रण गर्ने औषधि प्रयोग गरी ‘डाट’ गर्ने उनले बताए । यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ । योसँगै ‘स्याटेलाइट कलर’ जडान गरिने उनले जानकारी दिए । कलर जडान गरेसँगै हात्तीले गरेका गतिविधिको बारेमा जानकारी लिन सकिने उनले बताए । यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् ।
निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ । उनले भने “हात्ती बाहिर निस्किएको हुँदा मानवीय क्षति हुनसक्ने भएकाले साँझ र बिहानपख अत्यावश्यक कामबाहेक बाहिर ननिस्कान अनुरोध गर्दछौँ ।”
निस्कनै परे टच लाइट बालेर र समूहमा निस्कन कार्यालयले अपिल गरेको छ । यस हात्ती हरेक वर्ष बस्तीमा पसेर सर्वसाधारणलाई दुःख दिँदै आएको छ । यसले हालसम्म २२ भन्दा बढीको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ ।
ध्रुवेको उपद्रो करिब १५ वर्ष अघिदेखि नै सुरु भएको हो । त्यही हात्तीले २०६६ देखि २०६९ सालसम्म नेपाल र भारतमा गरेर १५ जनाको ज्यान लिएको निकुञ्जका अधिकारीले जनाएका छन् । २०६६ सालमा एक जना, २०६७ सालमा तीन, २०६८ सालमा एक र २०६९ सालमा १० जना सर्वसाधारणको ज्यान लिएको थियो । त्यसयता समेत बेलालामा गरेर यसले ७ जनाभन्दा बढीको ज्यान लिएको छ ।
२०७५ सालमा यसले चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले साङ्लो चुँडाएर जंगलतर्फ लगेको थियो ।
कलीसँगै बाँधिएको भाले हात्ती ‘पारस गज’लाई दाह्राले हानेर सामान्य घाइते बनाएको थियो । उमेर पुगेर उन्मत्त हुँदै गएपछि समूहबाट छुटेर पोथी हात्ती खोज्ने क्रममा ध्रुवे चितवन राष्ट्रिय निकुञ्ज आएको हो । जुन ठाउँमा ध्रुवे थियो त्यस क्षेत्रमा रहेका अन्य भाले हात्तीका कारण पोथी नपाएपछि ध्रुवे मात्तिएको बेला चितवन राष्ट्रिय निकुञ्ज आउने गर्दछ ।



