काठमाडौं । तिहार पर्व सुरु हुनुभन्दा अघिल्लो (धनतेरसको) दिन मात्रै १० करोड भन्दा बढीको कुचो बिक्री भएको छ । नेपाल कुचो संघको तथ्यांकले यस्तो देखाएको हो । यो वार्षिक खपतको करिब १० प्रतिशत हो ।
धनतेरसमा भाँडाकुँडा, सिक्काका साथै नयाँ कुचो समेत किन्ने प्रचलन छ । अरु केही किन्न नसक्दा लक्ष्मी पूजाको दिन कुचो भए पनि किन्नु र लक्ष्मी पूजा गर्दासँगै राखेर पूजा गर्नुभन्ने मान्यता रहेको संघका अध्यक्ष राजकुमार कार्कीको भनाइ छ ।
नेपालमा करिब २ अर्बको कुचो उत्पादन हुने गरेको छ। त्यसमध्ये १ अर्ब रुपैयाँको कुचो आन्तरिक रूपमा खपत हुने गरेको छ भने बाँकी निर्यात हुन्छ ।
अहिले अम्रिसो प्रतिकिलोग्राम मूल्य करिब १२० रुपैयाँ छ। एक किलोग्रामा अम्रिसोबाट ३ देखि ५ वटासम्म कुचो बनाउन सकिन्छ । एउटा कुचो बनाउन ३० देखि ५० रुपैयाँसम्म लाग्छ । बजारमा यस्तो कुचो ८० देखि २०० रुपैयाँसम्म बिक्री हुने गरेको छ । मौसमी व्यापारको रुपमा रहेको यो व्यवसायबाट करिब १० हजारले प्रत्यक्ष रोजगारी पाएको संघको तथ्यांक छ ।
नेपालको ४३ वटा पहाडी जिल्लामा अम्रिसो खेती हुने गरेको छ । धेरै शित नपर्ने पाखामा यसको खेती गर्न सकिन्छ । यसलाई हरियो हुँदा गाईवस्तुलाई खुवाउन पनि सकिन्छ । पहिरो जाने ठाउँमा लगाउँदा यसले माटोलाई समाएर पहिरो नियन्त्रणमा समेत सहयोग पुर्याउने गर्छ ।



