काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर दोस्रो दिन पनि नकारात्मक सर्किट लागेर कारोबार भएको छ। हिजो अर्थात आइतबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयर सोही दिन पनि नकारात्मक सर्किट लागेर कारोबार भएको थियो।
आइतबार स्पेशल प्रि ओपन सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको यस कम्पनीको शेयरमूल्य सो दिन १० प्रतिशत घटेर ३ सय १५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। आज पनि बजार खुले लगत्तै घटेको यस कम्पनीको शेयरमूल्य अहिले १० प्रतिशत अर्थात ३१ रुपैयाँ ५० पैसा घटेर २ सय ८३ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।
आइतबार जस्तै यस दिन पनि कम्पनीको शेयरमा बिक्रीचाप बढी रहेको छ भने खरिदचाप शून्य रहेको छ। यो समाचार तयार पार्दासम्ममा कम्पनीको ४ लाख १८ हजार ४ सय ८८ कित्ता शेयर विक्रीमा रहेको छ भने खरिद गर्ने भने शून्य रहेको छ।



