काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ्ग कम्पनीले आजदेखि आईपीओ निष्कासन गर्दैछन् । दुवै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कार्तिक १० देखि आईपीओ निष्कासन गर्न लागेको हो ।
मुक्तिनाथ कृषि कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २०% ले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोही १४ करोडको १० प्रतिशतले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अङ्कित एक लाख ४० हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन खुला गर्न लागेको हो ।
उक्त आइपिओमा कार्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । यस धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
आजदेखि नै नेपाल वेयरहाउजिङ्ग कम्पनीले पनि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १ लाख ३७ हजार ५०० कित्ता प्राथमिक निष्कासन खुला गर्न लागेको छ । कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ७५ लाखको २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसमध्ये कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अङ्कित एक करोड ३७ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो ।
उक्त आइपिओमा पनि कार्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । यस धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।



