images
images

सडक सञ्जालबाट छुट्टियो हेलम्बु, पुनर्निर्माण खर्च नयाँ बनाउन जति नै लाग्ने


  • 337
    SHARES
  • २०७८ श्रावण २२ गते शुक्रबार

    सडक सञ्जालबाट छुट्टियो हेलम्बु, पुनर्निर्माण खर्च नयाँ बनाउन जति नै लाग्ने

    सिन्धुपाल्चोक । कामको सिलसिलामा काठमाडौँ निस्केका हेलम्बु–१ नाकोतेका मिङ्मार गाल्मो शेर्पा बुधबार झण्डै नौ घण्टा हिँडेर मेलम्ची बजार पुगे। 

    गत जेठसम्म झण्डै दुई तीन घण्टामा गाडीबाट पुग्नेमा अहिले दिनभर जोखिमपूर्णरुपमा हिँडेर उनी मेलम्ची आइपुगेका हुन् । सडक नै भासिएको र पुल नै बगाएकाले बजार आइपुग्न धेरै लामो बाटो हिँड्नुपरेको उनले बताए ।“पुल मात्रै बनाइहाले पनि कम्तीमा हिँड्न त सजिलो हुन्थ्यो,” उनले भने ।  

    गत असार १ गते मेलम्ची नदीमा आएको बाढीका कारण सिङ्गो हेलम्बु गाउँपालिका सडक सम्पर्कविहीन बनेको छ । सोझै जाने सडक भत्किएपछि स्थानीयवासी अहिले पाल्चोक र दुवाचौर घुमेर मात्रै मेलम्ची निस्कन सक्छन् । हेलम्बु– २ किउलकी साइली तामाङ सडक नहुँदा खाद्यान्न कसरी ल्याउने भन्ने समस्या भएको जानकारी दिए । गाउँमा केही अप्ठ्यारो परिहालेमा कसरी शहरसम्म पुग्ने भन्ने चिन्ता उनलाई छ । भन्छन्, “बिरामी परियो भने हेलिकप्टरको विकल्प छैन, भन्नासाथ त्यो नि के पाइएला र ?”  

    असार १ गते आएको बाढीकै कारण पुलबजार–हेलम्बु सडक पूर्णरुपमा क्षतिग्रस्त बनेको थियो । स्थानीयवासीमा मर्मत गरेर सडक बन्छ कि भन्ने कताकता आशा थियो । यही साउन १६ गते  आएको बाढीले थप क्षति गरायो । बजारसँग जोड्ने रातो पुल नै बगाएपछि अहिले भने स्थानीयवासी त्यसको विकल्प खोज्नुपर्ने बताउँछन् । हेलम्बु–२ का सन्त रिमालले सडक पूरै भासिएको र पुल बगाएकाले त्यो सडकका विकल्प खोजेर पनि हेलम्बुलाई सडक यातायातसँग जोड्नुपर्ने बताउनुभयो । उनी भन्छन्, “अहिले त हामी बिरामी भइहालेमा अस्पताल नै कसरी जाने भन्ने समस्या छ ।”

    बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरुपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न सकिने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार काठमाडौँबाट हेलम्बु जानका निम्ति तत्काल दुई वटा वैकल्पिक मार्ग रहेका छ । काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने एउटा रुट तयार रहेको छ । 

    काठमाडौँबाट सुन्दरीजल, चिसापानी, कुटुमसाँङ, पाटीभञ्ज्याङ, चित्रे, ग्यालथुम शेरा हुँदै थापाटार जोड्ने सडकलाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने छ । यो बाटो सञ्चालन भएमा स्थानीयवासीलाई बिरामी भइहालेमा उपचारका साथै दैनिक उपभोग्य वस्तुको आयातमा समेत सहजता आउने उनले बताए । 

    उक्त सडक सञ्चालन हुँदा पनि हेलम्बुका किउल, पाल्चोक, शेर्माथान, तिम्बु, चुरेटारलगायतका बस्ती र गाउँपालिका कार्यालयसमेत सडक सम्पर्कबाट बञ्चित नै हुनेछन् । उनले भने, “केही ठाउँलाई मात्रै सजिलो हुने भए पनि सडक खुलाउन ढिला गर्नुहुँदैन ।”

    स्थानीयवासी सडक र पुल नहुँदा धेरै समस्या पर्न थालेको बताउँछन् । हेलम्बु–६ की चण्डीका गुरागाईंले चाँडोभन्दा चाँडो सडक बनाएर आवतजावत खुलाउनुपर्ने बताए । पुल नै बगाएको ठाउँमा हिँड्नैका लागि समस्या भएकाले हेलम्बुवासी धैरै दुर्गम क्षेत्र बनेको उनको भनाइ छ । 

    मेलम्ची खानेपानी विकास समितिले निर्माण गरेको सो सडक मर्मतमा पनि समितिको भूमिका रहेको छ । सडक नहुँदा स्थानीयवासीको दैनिकी कठिन भएको छ भने आयोजनाको मर्मतका लागि पनि पहिले सडक नै बन्नुपर्छ । समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्त बाढीका कारण साढे सात किमी सडक पूर्णरुपमा क्षतिग्रस्त भएको बताए । 

    सडक र पुल बगाएकाले तत्काल मर्मत गर्न सकिने अवस्था नभएको उनको भनाइ छ । निर्माण हुँदाको समयमा अर्ब रुपैयाँ लगानी रहेको सो सडकमा मर्मतका लागि पनि त्यति नै रकम लाग्ने अनुमान गरिएको छ । समितिले मर्मत कसरी अघि बढाउन सकिन्छ भनेर सडक विभाग, प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय र पालिकासँग समन्वय गरिरहेको छ । उहाँले भन्नुभयो, “सडक पालिकालाई चाहिएको र समितिलाई आयोजनास्थलसम्म पुग्न चाहिएको छ ।”

    तत्काल सडक खुलाउने अवस्था नभएकाले वैकल्पिक सडकमार्फत भए पनि हेलम्बुलाई सडक सञ्जालसँग जोड्ने गरी छलफल भइरहेको उनले बताए । समितिले असार महिनामा नै मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई विपत् व्यवस्थापन कोषमा रकम सहयोग गरेको थियो । समितिले दुवै पालिकालाई सडक निर्माणमा नै रकम खर्च गर्न भनेको छ । 

    दीर्घकालीन रुपमा त्यही रेखाङ्कनबाट सडक पुनःस्थापना गर्नुपर्ने भए पनि शुरुआतबाट नै काम गर्नुपर्ने देखिएको छ । त्यसको विस्तृत अध्ययन गरेर र भविष्यमा पनि प्रकृतिक प्रकोप आउन सक्ने अनुमान गरेर सडक र पुल निर्माण गर्नुपर्ने प्रवक्ता पन्त बताउँछन् । 

    संविधानअनुसार सङ्घीय, प्रदेश र स्थानीय सडक छुट्याउँदा मेलम्ची बजारसम्मको हेलम्बु राजमार्ग मात्रै सङ्घीय सरकारको क्षेत्रमा पर्छ । मेलम्ची–हेलम्बु सडक निर्माण गरेका हिसाबले समिति र पूरै पालिकालाई असर गरेकाले हेलम्बु गाउँपालिका जोडिएको छ । दीर्घकालीनरुपमा सडक खुलाउनेभन्दा तत्काल वैकल्पिक सडक चालू गराउन पालिका, समिति र विभाग मिलेर काम गर्ने सडक विभाग, सम्भार महाशाखाका इञ्जिनीयर केशव ओझाले बताए । 

    उनका अनुसार सुन्दरीजलबाट मेलम्चीसम्मको सडकको ट्रयाक खुले पनि वर्षाका कारण कतिपय स्थानमा अवरुद्ध भएको र कतिपय मोड साँघुरो रहेका छन् । ती स्थानमा मर्मत र सुधार गरी सडक चालू गर्न सकिने उनको भनाइ छ । उनले भने “समितिले यहाँबाट र यसरी सडक खुलाउन सकिन्छ भनेपछि त्यसैका आधारमा रकम माग गरेर काम गर्न सकिन्छ ।”

    मेलम्ची बजार–हेलम्बु खण्डमा पर्ने विभिन्न पुल बगाएकाले बेलिब्रिज राख्न माग भइरहेको छ । पहिले चार पुलको आवश्यकता भएकामा चनौटेको पुल बगाएसँगै पाँच बेलिब्रिजको आवश्यकता रहेको पालिकाले माग गरेका छन् । बेलिब्रिजको लम्बाइभन्दा खोलाको चौडाइ बढी हुने हुँदा जुनसुकै खोलामा बेलिब्रिज सजिलै राख्न नसकिने अवस्था छ । विभागसँग अहिले भएका बेलिब्रिजको लम्बाइ ३० मिटर रहेको छ । खोलालाई केही साँघुरो बनाएर बेलिब्रिज राख्न सकिन्छ । 

    आयोजनाको पूर्वाधार विकाससम्बन्धी कार्यक्रमअन्तर्गत २७ किमी पहुँच सडक निर्माण भएको थियो । गोकर्ण–सुन्दरीजल पाँच किमी र लामिडाँडा–मेलम्ची २२ किमी गरी २७ किमी सडक एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको हो । आयोजनाको दोस्रो चरणको निर्माणका लागि आयोजनाले याङ्ग्री र लार्केसम्म पहुँच मार्ग निर्माण अघि बढाइरहेको थियो । 


    images
    images

    Logo