काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक बढेर बन्द भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएसँगै यस दिन नेप्सेमा सुधार देखिएको हो।
मंगलबार बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक महिनाका लागि ब्याजदर प्रकाशित गरेका थिए। जसमध्ये अधिकांशले ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरुको मात्र कुरा गर्ने हो भने पनि २० मध्ये १४ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। त्यसैको सकारात्मक प्रभाव यस दिन बजारमा देखिएको हो।
नेप्से १३.१८ अंकले बढेर १ हजार ८ सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ८९ स्क्रिपको १ अर्ब ८ करोड रुपैयाँ बराबरको ३८ लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार १ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । मंगलबार १ सय ७३ कम्पनीको शेयर मूल्य बढेको छ । ५७ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२५ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंक २ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड १७ लाखको शेयर कारोबार भएको छ ।
आज एनआइबिएल प्रगति फण्डको ७.३५ प्रतिशतले बढेको छ । श्वेत गंगा हाइड्रोपावरको ६.१९ प्रतिशतले बढेको छ भने सिद्धार्थ इक्विटी फण्डको ६.४८ प्रतिशतले बढेको छ ।



