images
images

काठमाडौंका सडकमा १७०० सडक बत्ति जोडिने


  • 781
    SHARES
  • २०७८ श्रावण २२ गते शुक्रबार

    काठमाडौंका सडकमा १७०० सडक बत्ति जोडिने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु ३० करोडको लगानीमा १ हजार ७ सय थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए । 

    “अबको केही दिनमा जडान कार्य सुरु हुन्छ, आगामी दशैँलाई लक्षित गरी काम अघि बढाइएको छ”, प्रमुख थापाले भने । धुलो र हिलोरहित काठमाडौँ बनाउने अभियानमा यसअघि देखि नै सक्रिय रहेको भन्दै कामपाको पहलमा उज्यालो काठमाडौँ महानगर बनाउने अभियानलाई सफल बनाउन लागिएको उनले बताए ।  

    यस आयोजनाको निर्माण कार्यपश्चात् मर्मत गर्नुपर्ने सडक, फुटपाथलगायतको मर्मत कार्य सडक विभागले गर्नेछ । सुरुमा बत्ती जडान कार्य अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, बानेश्वर र कलङ्कीमा गरिनेछ । त्यसैगरी त्रिपुरेश्वरदेखि लैनचौर हुँदै महाराजगञ्जसम्म बत्ती जडान गरिनेछ ।  गौशाला–चावहिल बौद्ध हुँदै अन्य मुख्य सडक छेउछाउमा उक्त कार्य सम्पन्न गर्ने कामपाको तयारी रहेको छ । 

    बत्ती जडान कार्य सम्पन्न भएसँगै रातको समयमा हुने विभिन्न किसिमका आपराधिक घटना नियन्त्रणका लागि  ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल कामपाको मुख्य सडक कालीमाटी, त्रिपुरेश्वर, कलङ्की, बालाजुलगायतका स्थानमा कहीँ बत्ती नै छैन भने भएका केही स्थानमा पनि पर्याप्तरूपमा सडक बत्ती नहुँदा सडक दुर्घटना र अपराधका घटनाहरु घटिरहेका छन् ।


    images
    images

    Logo