काठमाडौं । साताको अन्तिम दिन विहीबार नेप्से घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से हिजो अर्थात बुधबार सामान्य अंक बढेर बन्द भएको थियो। यस दिन पुनः नेप्सेले गिरावटलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.१६ अंकले घटेर १ हजार ८ सय ७४ दशमलव ६० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ९२ सिक्रपको १ अर्ब ७० करोड रुपैयाँ बराबरको ७५ लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ ।
अघिल्लो दिन बुधबार नेप्सेमा झिनो अंकको सुधार देखिएको थियो । उक्त सुधारले बिहीबार निरन्तरता लिन सकेन । सूचक तल झर्दा कारोबार रकम भने बढेको छ ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १.६ प्रतिशत बढेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेर बन्द भएको छ । बुधबार १ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार २३ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय १० कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको १६ करोड ३८ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको ४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर रहेका छन् । हाथवे इन्भेटमेन्ट नेपालको ९.९८ प्रतिशतले बढेको छ । यस दिन एनआईबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्री हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।



