काठमाडौं । बुधबार नेप्से बढेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, बुधबार सामान्य अंक बढेर बन्द भएको हो । नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिनदेखि निरन्तर ओरोलो लागिरहेको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१६ अंकले बढेर १ हजार ८ सय ९४ दशमलव ७६ विन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका २ सय ८६ स्क्रिपको १ अर्ब ८ करोड रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।
आज १ सय ३७ कम्पनीको शेयर मूल्य बढेको छ । ८५ कम्पनीको शेयर मुलय घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर छ । आज माण्डु हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ४ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज तीन कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन सिटि होटल, माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट यसै दिनदेखि कारोबारमा आएको हो। त्यसैगरी, यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।



