काठमाडौं । माथिल्लो मैलुङ खोलाको आइपीओमा १ अर्ब ३८ करोड ८० लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिनसम्म १२ लाख ४९ हजार १ सय ७ जना आवेदकले १ करोड ३८ लाख ८० हजार ५ सय ९० कित्ताको लागि आवेदन दिएका छन् ।
यो मागभन्दा १०.८० गुणा बढी आवेदन हो । कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका आईपीओ निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।
सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । त्यसैगरी, सोमध्ये ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ ।
कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता शेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।



