काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २ सय १० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (असोज १८ गते) ११ लाख १३ हजार ८ सय ५५ जनाले १ करोड ४७ लाख ६५ हजार १ सय २० कित्ताका लागि आवेदन दिएका छन् ।
यो मागभन्दा १.५१ गुणा बढी आवेदन हो । कम्पनीले असोज १४ गतेदेखि आजसम्म १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको थियो ।
कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो। कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५ सय २५ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा स्थानिय बासिन्दाहरुले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए। रीतपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम शेयर बाँडफाँड गरिसकेको छ।
त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५ सय ६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २ सय ८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँड गरिसकेको छ।
दोस्रो चरणमा कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको हो।



