images
images

अपर तामाकोशीको हकप्रदमा शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन


  • 1.0K
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    अपर तामाकोशीको हकप्रदमा शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

    काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । 
     
    दोलखामा सञ्चालित ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीलाई एक कित्ता शेयर बराबर एक कित्ताको प्रति शेयर १ सय रुपैयाँ अङ्कित दरको हकप्रद शेयर निश्कासन गरिरहेको छ । 

    कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन् । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन् । 

    कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्ने छ । कम्पनीका अनुसार हालसम्म सर्वसाधारण शेयरधनीबाट २ अर्ब ८३ करोड रुपैयाँ अर्थात ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए। 

    गौतमले भने, “संस्थापकबाट शतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम सङ्कलन भइसकेको छ, शेयर भर्ने स्थानमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम सङ्कलन हुने देखिएको छ ।” हकप्रद शेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म छ । 

     १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक शेयर छ । शेयर स्वामित्वअनुसार प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख रुपैयाँ, नेपाल टेलिकमले ६३ करोड ५४ लाख रुपैयाँ र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख रुपैयाँ र २१ करोड १८ लाख रुपैयाँ हकप्रद शेयर बापतको रकम चुक्ता गरिसकेका छन् । 

    कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ । 

    यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख रुपैयाँ, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार रुपैयाँ र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नुपर्ने छ । हकप्रद शेयरबापतको रकम सङ्कलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।


    images
    images

    Logo