कास्की । सेती नदी जलविद्युत आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा १३ लाख ६८ हजार १ सय ५० हजार कित्ता शेयर आवेदन परेको छ ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका लागि गत भदौ १९ गतेदेखि प्राथमिक शेयर जारी गरेको थियो । असोज १७ गते (हिजो) अन्तिम दिन रहेकामा १३ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको कम्पनीले जनाएको छ ।
प्रभावितका लागि जारी गरिएको आइपिओमा तोकिएको सङ्ख्याभन्दा पाँच लाख ४४ हजार ३ सय ५० कित्ता न्यून आवेदन परेकाले प्रक्रिया पूरा गरेका सबैले शेयर प्राप्त गर्ने कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । उनका अनुसार आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे गाउँपालिका–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीय बासिन्दाका लागि शेयर जारी गरेको थियो ।
कम्पनीको आइपिओमा आस्वाबाट ६ सय ३९ जनाले ५ लाख ६७ हजार २ २० कित्ता र भौतिक उपस्थित भएर ८ सय ७९ ले ८ लाख ९ सय ३० कित्ता आवेदन गरेका छन् ।
भिजन लुम्बिनीले आफ्नो जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपौयँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख १२ हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले जानकारी दिए ।
कम्पनीले सर्वसाधारणलाई छुट्याइएको शेयर को १० प्रतिशतले १ लाख ९१ हजार २ सय ५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्काशन गरी असोज १५ गते बाँडफाँड गरिएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको थियो ।
कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउँदै आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार ढिलोमा आगामी मङ्सिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत उत्पादन हुनेछ । मङ्सिर पहिलो साता आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्ने तयारी गरिएको पोखरेलको भनाइ थियो ।
स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार माछापुच्छ्रेको सार्दिखोला भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४ सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।
“भूमिगत पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव ५ मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालेर विद्युत उत्पादन हुनेछ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ”, पोखरेलले भने । उनका अनुसार उक्त आयोजनामा ५ अर्ब लगानी रहेको छ । ३ अर्ब ५० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् भने अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गर्न लागिएको कम्पनीले जनाएको छ ।



