दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बिहीबारदेखि ३ सय ४ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । ७६ मेगावाट क्षमताका ४ वटा युनिटबाट विद्युत् उत्पादन सुरु गर्न लागिएको हो । ४ वटा युनिटबाट सोमबारदेखि नै विद्युत् उत्पादन भए पनि बिहीबारदेखि व्यवसायिक रुपमा उत्पादन सुरु हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपाने जानकारी दिए ।
चौथो युनिट सञ्चालनमा आएसँगैै हाल राष्ट्रिय प्रसारण लाइनमा माथिल्लो तामाकोशीबाट ३०४ मेगावाट बिजुली प्रवाह भएको छ । यसअघि पहिलो युनिट असार २१ गते र दोस्रोबाट असार २९ गते र तेस्रो युनिटबाट साउन ८ गतेदेखि सञ्चालनमा आएको थियो । भदौभित्र ६ युनिटबाट सञ्चालनमा आउने आयोजनाले लक्ष्य लिएको छ ।