काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाडँफाटँ भएको छ । बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलले बिहिबार साँझ शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ८१ हजार ५ सय ७५ जनाको आवेदन परेकोमा १२ लाख ८२ हजार ८ सय १९ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ८२ हजार ८ सय १९ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।
जस अनुसार ६२ हजार १ सय १७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।



