काठमाडौँ । उपत्यकामा कोभिड संक्रमण बढेको भन्दै सभा, सम्मेलन, धर्ना, जुलुुस नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
भीडभाडजन्य गतिविधिले सङ्क्रमणदर अझै बढ्ने र तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ ।
सो सूचनामा भनिएको छ, “जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी भीडभाडजन्य गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारवाही हुनेछ ।” पछिल्लो समय सङ्क्रमणदर बढ्दै गएपछि अस्पतालहरुमा आइसीयू, भेन्टिलेटरजस्ता आकस्मिक सेवामा शय्या भरिन थालेको भन्दै त्यसलाई बढ्न नदिन सबै पक्ष र समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने पनि सूचनामा भनिएको छ ।



