काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले असोज ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो ।
तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो । यस कम्पनीले भदौ १८ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ ।
यस हकप्रद सेयरका लागि कम्पनीले गत साउन २६ गते बुक क्लोज गरेको थियो । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् ।
हकप्रद निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक र सनराइज क्यापिटल सह बिक्रि प्रबन्धक रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।



