काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार आज दिउँसो क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा बाँडफाँड कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीले साउन २९ गतेदेखि भदौ २६ गतेसम्म आयोजना प्रभावितको लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीको जारी पूँजीको ५ प्रतिशतले हुन आउने १५ लाख ३७ हजार ५ सय २५ कित्ता शेयर प्रति शेयर अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १२५ रुपैयाँ थप गरी प्रति शेयर जम्मा मूल्य २२५ रुपैयाँको दरमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुका आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले ४७ हजार ८ सय १० कित्ता खरिदका लागि २ सय ४० जना आवेदकहरु र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत ८६ हजार ७ सय ५० कित्ता खरिदका लागि ४ सय १७ जना गरी जम्मा ६ सय ५७ जना आवेदकहरुबाट १ लाख ३४ हजार ५ सय ६० कित्ता शेयर खरिदका लागि आवेदन प्राप्त भएको थियो जसमा १ जना आवेदकको ४० कित्ता शेयरको आवेदन रितपुर्वक नदेखिएकोले सो आवेदनलाई अयोग्य ठहर्याई रद्द गरी कूल ६ सय ५६ जना आवेदकहरुबाट प्राप्त १ लाख ३४ हजार ५ सय २० कित्ता शेयर बाँडफाँड गरेको छ ।



