काठमाडौँ । संविधान दिवसको दिन सरकारले दिने गरिएको विभुषण तथा पदक यो वर्ष स्थगित भयो । पदक पाउनेको नाम तयार भएर पनि अन्तिम समयमा सरकारले पदक वितरण रोक्ने निर्णय गरेको हो ।
सरकारले यसअघि पदक वितरणका लागि उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा समिति गठन गरेको थियो । सो समितिले ७४० जनाभन्दा बढीको नाम तयार पारेको थियो ।
स्रोतका अनुसार सो सूचीमा अधिकांश नाम काँग्रेसी पृष्ठभूमिका व्यक्तिहरुको थियो । माओवादी र अन्य सत्तारुढ दलनिकटका थोरैमात्र व्यक्ति समावेश थिए ।अन्तिम सूची गृह मन्त्रालयमा पुगेपछि यसबारे माओवादी नेताहरु असन्तुष्ट बने । पदकसम्बन्धी प्रस्तावित नाममा स्वयं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सन्तुष्ट थिएनन् ।
तर, यही क्रममा काँग्रेसबाटै राज्यव्यवस्था समितिको सभापति बनेका रामहरि खतिवडाले पदकको मापदण्डबारे प्रश्न उठाए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, संयोजक खड्का, गृहमन्त्री श्रेष्ठ र मुख्यसचिव वैकुण्ठ अर्याललाई भेटेर चासो राखे । अघिल्लो वर्षजस्तै विवादित व्यक्तिले पदक पाए आफूले समितिमा प्रश्न उठाउने चेतावनी समेत दिएका थिए ।
प्रस्तावित नाममा असन्तुष्टि र राज्यव्यवस्था समितिका सभापतिको चेतावनीपछि पदक स्थगित गर्ने निर्णयमा प्रधानमन्त्री दाहाल पुगेका थिए । बैठकमा गृहमन्त्री श्रेष्ठले प्रस्ताव पेश गर्दा दाहालले नै ुयो वर्ष यसलाई रोकौुं भनेको बैठकमा सहभागी एकजना मन्त्रीले बताए ।
ुप्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूबीच पहिलै छलफल भएको हुनसक्छ तर बैठकमा प्रधानमन्त्रीबाट नै रोक्ने प्रस्ताव आएको होु ती मन्त्रीले भने । सरकारले पदक वितरणसम्बन्धी मापदण्ड बनाउन एक कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलमा रहने व्यक्तिको नाम भने टुंगो लागेको छैन ।



