images
images

चिकित्सक कुटपिटको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द


  • 320
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    चिकित्सक कुटपिटको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

    काठमाडौं । हेटौंडामा चिकित्सकमाथि कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । सङ्घले  विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । 

    हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डां प्रशान्त बिडारीमाथि कुटपिटमा संलग्नलाई ७२ घण्टाभित्र कानुनी कारबाही गर्न संघले माग गरेको थियो । सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ ।

    जारी विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ । 

    सङ्घले हेटौँडा अस्पताल घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजिएको आरोप लगाउँदै सम्बन्धित निकाय माथि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न समेत माग गरेको छ । साथै भावी दिनमा यस्ता प्रकारका घटनामा मौनता नसाध्ने गरी लिखित प्रतिबद्धता समेत जनाउन माग गरेको छ ।  

    डेङ्गु सङ्क्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका केही युवाको समूहले बुधबार चिकित्सकमाथि अस्पतालभित्रै प्रवेश गरेर कुटपिट गरेका थिए । यद्यपि, जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न ४ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको बताएको छ । 

     


    images
    images

    Logo