images
images

एनआरएनए अध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी, नीतिगत योजना गरे सार्वजनिक


  • 574
    SHARES
  • २०८० भाद्र ३० गते शनिबार

    एनआरएनए अध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी, नीतिगत योजना गरे सार्वजनिक

    ललितपुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुहुँदै उनले दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि पाँच नीतिगत योजना सार्वजनिक गरे । 
     
    “सबल, साझा र एकताबद्ध एनआरएनए बनाउने मेरो प्रमुख उद्देश्य हुनेछ । सङ्घलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुँदै आएको छुु”, उनले भने । सङ्घको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको उल्लेख गर्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र सङ्गठित एनआरएनए बनाउने दृढता व्यक्त गरे ।
     
    ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित प्रतिबद्धता सार्वजनिक गर्दै श्रेष्ठले दुई वर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्नेमात्र होइन, गैरआवासीय नेपालीको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको १० अर्ब रुपैयाँको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने बताए ।
     
    उनले भने, “संस्था स्थापनादेखि नै प्रवासी नेपालीको मुद्दामा सक्रियतापूर्वक काम गरिरहेको छु । विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी श्रम तथा सीप बैंक स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
     
    कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्षद्वय नरेन्द्र भाट तथा राज रेग्मी, प्रवक्ता सोम सापकोटा, सचिवद्वय प्रवीण गुरुङ र गङ्गाधर गौतम, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, पूर्वसल्लाहकार हरिबोल भण्डारी, एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष बुद्धी सुवेदीलगायतले आ–आफ्नो धारणा राखेका थिए । एनआरएनएको ११औँ महाधिवेशन आगामी असोज ३० गतेदेखि कात्तिक ३ सम्म काठमाडौँमा हुँदैछ । 


    images
    images

    Logo