काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ७४.६१ अंक बढेर २ हजार ७ दशमलव ०६ विन्दुमा पुगेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिनका लागि बजार खुलेको थियो। सोमध्ये ३ कारोबार दिन नेप्से उकालो लागेको थियो भने एक कारोबार दिन घटेको थियो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ९२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३।८६ प्रतिशत अर्थात १ खर्ब ११ अर्ब रुपैयाँ बढेर ३० खर्ब ४ अर्ब पुगेको छ।
सातको पहिलो दिन आइतबार १०.२३ अंकले बढेर १ हजार ९ सय ४२ दशमलव ६८ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । साताको दोसो दिन सोमबार ४४.३० अंकले बढेर १ हजार ९ सय ८६ दशमलव ९९ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै मंगलबार १९.४२ अंकले घटेर १ हजार ९ सय ६७ दशमलव ५७ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार ३९.४८ अंकले बढेर २ हजार ७ दशमलव ६ विन्दुमा पुगेर बन्द भएको थियो । सो दिन १ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
बिहीबार संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङका निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले नेप्सेसमेत बन्द भएको थियो भने शुक्रबार कारोबार बन्द हुने गरेको छ ।
यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.६५ प्रतिशत बढेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.७६ प्रतिशत बढेको छ।
अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। अघिल्लो साता १० हजार २ सय ३८ दशमलव ३१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ५ सय ७ दशमलव २४ अंक बढेर ११ हजार २५ दशमलव ६१ विन्दुमा बन्द भएको छ।
यस साता नेप्सेमा ४ करोड ४० हजार २ सय ४५ कित्ता शेयर र ८ करोड इकाई सूचीकृत भएको छ। यस साता नेपाल फाइनान्सको लिलाम शेयर नेप्सेमा सूचीकृत भएको हो भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको हो। त्यस्तै, यस साता लक्ष्मी भ्यालु फण्ड २ को इकाई नेप्सेमा सूचीकृत भएको हो।
यसैगरी, लाभांशको सिजन सुरु भएको छ । लाभांश सिजन सुरु भएसँगै ४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । यसरी लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।



