काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले आज भदौ २८ गते बिहिबार दिउँसो शेयर बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार आईपीओमा कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेपनि १४ लाख ७ हजार २ सय ३७ जना मात्र शेयर पाउनको लागि योग्य भएका छन्। अर्थात् आवेदन दिएका मध्ये १ लाख ७७ हजार ३ सय ६० जना आवेदन अयोग्य भएका छन् ।
मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। यस हिसाबमा गोलाप्रथाबाट ९ लाख जना आवेदनले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदकाे भने हात खाली भएकाे छ ।
कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५ सय कित्ता प्रतिशेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ।
त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५ सय कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ। बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको थियो ।
इस्याेरेन्सले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो ।
आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।



