काठमाडौं । नेपाल प्रहरी क्रेन्दीय अनुसन्धान व्यरो (सीआईबी) ले सुन तस्करी गर्न विभिन्न ७ कम्पनी दर्ता भएको अनुसन्धानबाट पहिचान गरेको छ । सीआईबीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न सुन तस्कारका लागि खडा गरिएका कम्पनीहरु सार्वजनिक गरेको हो ।
सिआईबीले सार्वजनिक गरेका कम्पनीहरुमा छुंगक इलेक्ट्रिक सप्लार्यि, भुजेल इलेक्ट्रिक सप्लायर्स, हवाडा इलेक्ट्रीक सप्लायर्स, पवाटी इलेक्ट्रिक सप्लानयर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स, र रेडी ट्रेड प्रालि र सरिता सप्लायर्स रहेका छन् ।
यस्तै, सो समूहले टोखा नगरपालिका २ र काठमाडौं महानगरपालिका २ लाजिम्पाटलाई सुन पगाल्ने ठाउँ तथा गोदाममा रुपमा प्रयोग गरेको भेटिएको छ । सीआईबीले सुन, ब्रेक प्याड, सुन गाल्ने मेसिन र गाल्न प्रयोग हुने रसायन तथा अन्य औजार उपकरणहरु बरामद पनि गरेको छ ।
तस्करीको सुन नेपाल भित्र्याउन तस्करहरूले हङकङलाई मूल थलो बनाएको खुलेको छ भने उनले त्यसका लागि सोझा नेपालीलाई फकाएर सुन आयात गर्न ७ वटा कम्पनी दर्ता गरेको देखिएको जनाइएको छ ।
त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता समानमा सुन ल्याएको सीआईबीको आशंका छ ।
ब्रेक प्याड (शु) ल्याएको रेडी ट्रेडले मात्र २ साउनमा सिनामंगलबाट बरामद भएको ६० सहित ३६२ किलोभन्दा बढी सुन ल्याएको सीआईबीको निष्कर्ष छ । साउन २ गते बरामद भएको ब्रेक शुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुनको अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदैछ ।



