काठमाडौं । प्रधानमन्त्रीको निर्देशनका कारण रोकिएको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स खुलाउन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लबिङ गरेका छन् । लाइसेन्स रोक्न निर्देशन दिनुको कारण थाहा नभएको उल्लेख गर्दै उनले यसलाई खुलाउन पहल गरिरहेको बताएका हुन् ।
यसअघि नयाँ स्टकलाई लाइसेन्स दिँदा सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेञ्ज धरापमा पर्ने तथा नयाँ स्टक एक्सचेञ्जमा स्वार्थ बाझिने चलखेल हुनसक्ने भन्दै विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालका लागि प्रक्रिया स्थगित गर्न निर्देशन दिएका थिए ।
धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जसम्बन्धी नियमावली संशोधन गर्दै नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाएको थियो । ४५ दिन समय दिएर आवेदन खुलाउँदा हिमालय स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका थिए ।
हिमालय स्टक एक्सचेञ्जमा दीपक भट्टको नेतृत्वमा शंकर ग्रुप, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, सौरभ ज्योति लगायतको लगानी छ ।
त्यस्तै, नेशनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशी, लगानीकर्ता रविजंग लामिछाने, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको समेत लगानी छ ।
अन्नपूर्ण स्टक एक्सचेन्जमा भने रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती लगानीकर्ता छन् ।
लाइसेन्सका लागि कम्पनी छनौटसम्बन्धी मापदण्डमा १०० पूर्णाङ्कमध्ये विस्तृत व्यावसायिक कार्ययोजनाको ६० अंक, प्रस्तावित प्रविधिका आधारहरु लागि २४ अंक, सञ्चालकहरूको अनुभव र शैक्षिक योग्यताका लागि ८ अंक र पुँजीका लागि ४ अंकभार तोकिएको छ। यद्यपि अहिलेको अवस्था लाइसेन्स खुला भएमा हिमालय स्टक एक्सचेञ्जले नै लाइसेन्स पाउने निश्चितजस्तै छ ।



