काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से २३.३४ अंकले घटेर १ हजार ९ सय ९० दशमलव ५९ विन्दुमा झरेको छ। यस साता सूचकसँगै कारोबार रकममा पनि रौनकता हराएको छ । बजार २ हजार विन्दुबाट तल झरेको छ तर १९९० अंकबाट तल झर्न भने सकेको छैन ।
यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। सोमध्ये ३ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो। यस साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो।
यस साता परिसूचकसँगै कुल बजार पूँजीकरण पनि १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब १४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १.१६ प्रतिशत अर्थात ३५ अर्ब रुपैयाँ घटेर २९ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ।
साताको पहिलो दिन आइतबार २०.५४ अंकले घटेर १ हजार ९ सय ९३ दशमलव ३८ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार ५.०९ अंकले बढेर १ हजार ९ सय ९८ दशमलव ४८ विन्दुमा पुगेको छ । सो दिन ९६ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको थियो ।
त्यस्तै, मंगलबार ५.०५ अंकले घटेर १ हजार ९ सय ९३ दशमलव ४२ विन्दुमा पुगेको छ । सो दिन ७९ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने साताको अन्तिम दिन बुधबार २.८२ अंकले घटेर १ हजार ९ सय ९० दशमलव ५९ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस साता १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता म्युचुअल फण्ड र होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस साता सर्वाधिक २.६५ प्रतिशत घटेको छ।
यस साता तीन कम्पनीको २१ करोड ८७ लाख २ हजार ३ सय ७९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको शेयर नेप्सेमा सूचीकृत भएको हो भने महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ।
यतिबेला सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्न थालेका छन् । जसमा यससाता माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १३।३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।



