काठमाडौं । चीनले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएपछि काठमाडौंका मेयर बालेन्द्र शाहले चीनको भ्रमण रद्द गरेका छन् । बिहीबार आफ्नो आधिकारीक फेसबुक पेजमा लेख्दै उनले आफ्नो भ्रमण रद्द गरेका हुन् ।
चीनले केही दिन अघि नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतको हिस्सा भनी देखाइएको थियो ।
नेपालसँग नसोधी नेपालको भूमिलाई भारतको नक्सा देखाइ संवेदनशीलतामाथि गलत कदम चालेको भन्दै बालेनले चीन भ्रमण नजाने निर्णय गरेका हुन् ।
‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ।
नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो ।




