images
images

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य


  • 353
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य

    काठमाडौं ।  मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा १ सय २ जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका १ सय ३५ ठाउँमा बाढी, चार४ सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए । उक्त विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए । यस्तै पहिरोमा परी ३८ जनाको मृत्यु, ४० घाइते र नौ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले बताए । भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ घाइते भए ।

    यस वर्षको बाढी पहिरोबाट ३२६ दशमलव ८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ दशमलव ७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पूगेको छ । त्यसबाट झण्डै रु आठ अर्ब ५० करोड क्षति पुगेको अनुमान गरिएको छ ।
     
    मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा रु ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्याङक छ । मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट रु १५ अर्बभन्दा बढी भौतिक पूर्वाधारलगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । 
      
    मुलुकका विभिन्न स्थानमा चार मोटरेवल पुल र २२ झोलङ्गे पुल बगाउँदा करिब रु ४१ करोडको क्षति हुन पुगेको छ । बाढीपहिरोका घटनाबाट २८ खानेपानी आयोजनामा क्षति हुँदा रु नौ करोड बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ । 

    क्षति पुगेका ती पूर्वाधार तत्काल पुनःस्थापना गर्न १० अर्ब ५५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताए । यस अवधिमा चट्याङ लागेर ११ स्थानमा, पहिरोबाट सात, पुल क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ स्थानमा गरी देशका ३१ स्थानमा सडक अवरुद्ध भएका थिए । हाल मुलुकका दुई सय ३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ । 


    images
    images

    Logo