images
images

अर्थतन्त्र सुधारका लागि सबैपक्ष मिल्नुको विकल्प छैन : अध्यक्ष ढकाल 


  • 512
    SHARES
  • २०८० भाद्र १३ गते बुधबार

    अर्थतन्त्र सुधारका लागि सबैपक्ष मिल्नुको विकल्प छैन : अध्यक्ष ढकाल 

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका छन् । बाह्रखरी मिडियाको आयोजनामा बुधबार काठमाडौंमा भएको ‘निजी क्षेत्रको आवाज’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    उनले अहिलेको स्थिति प्रतिकूल भए पनि निजी क्षेत्र सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताए ।“मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा छ,” ढकालले भने, “चाहे हामी हाम्रा नीतिगत कारण भनौं वा कोभिडको कारण या विश्वव्यापीरुपमा देखिएको संकट या श्रीलंकाको डर देखाएर ल्याइएको नीतिका कारण अर्थतन्त्र अप्ठेरोमा परेको छ ।”उनले आफूहरुको नेतृत्त्व आइसकेपछि निजी क्षेत्रले बलियो गरी आफ्ना कुराहरु अघि सारेको बताए ।

    “सरकारले लिएका कतिपय नीतिले अहिले सरकारले नै तलब खुवाउन नसक्ने अवस्था सिर्जना भयो,” उनले भने, “समस्या समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ । नेपाल सरकार, राष्ट्र बैंक, अरु नियामकीय निकाय सबै एकैठाउँमा आउनुको विकल्प छैन ।”

    उनले पदबहाली गरेको चार महिनामै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, पूर्वप्रधानमन्त्री दलका प्रमुख सचेतक, सांसदलगायत समक्ष आफूहरु पुगेर पछिल्लो अवस्थाका बारेमा स्मरण गराएको बताए ।

    “त्यही कारण कतिपय विधेयक अहिले संसद्मा पुगेका छन्,। तर हामी अझै ढुक्क चाहिँ छैनौँ,” उनले भने । उनले निजी क्षेत्रले कहिले पनि खुट्टा नकमाएको स्पष्ट पार्दै निजी क्षेत्रको हितका लागि कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे ।उनले पछिल्ला दिनमा व्यवसायीलाई परेका अप्ठेराप्रति निजी क्षेत्रकै तीनवटै निकाय एकै ठाउँमा उभिएर आवाज उठाएको पनि बताए ।

    “अहिलेको समस्यामा व्यापारीलाई मात्रै दोष दिएर हुँदैन,” उनले भने, “अहिले समस्या सबैको साझा हो सबै मिलेर अघि बढ्न सके त्यति गाह्रो पनि छ जस्तो मलाई लाग्दैन । अहिले आम जनताको विश्वास गुमेको अवस्था छ। त्यो सरकार र नेपाल राष्ट्र बैंकबाट  दिइयो भने पहिलेकै लयमा आउन समस्या हुँदैन ।”

    उनले अहिले सबै निकाय एकै ठाउँमा उभिएर दबाब दिनुपर्ने समय रहेको बताउँदै सडकमा निस्कने कुरा नगर्न आग्रह गरे ।“हामी व्यवसायी सडकमै निस्कन जरुरी छैन,” उनले भने, “अहिले व्यवसाय पसल, फ्याक्ट्री हरेक कुरा बन्द भयो भने के हुन्छ भन्ने विचार गर्नुपर्छ । त्यो अवस्था आउन दिनु हुँदैन । त्यो आउनु नेपालका लागि धेरै नराम्रो अवस्था हो । त्यो व्यक्ति विशेष, पार्टी विशेष भन्दा पनि एकदमै जिम्मेवार हिसाबले हामीले सुझाव दिएका छौं । नीतिका लागि लबिइङ गरेका छौं र त्यो जारी राख्छौं ।”


    images
    images

    Logo