काठमाडाैं । दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा आज प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज काठमाडौंलगायत स्थानबाट ६० किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरिएका जानकारी दिए । सुन तस्करी प्रकरणमा उनीहरूसहित पक्राउ पर्ने २५ जना पुगेका छन् ।
उनले विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणको अनुसन्धानका लागि भने राहुल महरालाई पक्राउ गरिएको जानकारी दिए । राहुलले भने आफैँ सिआइबीमा गएकार फेसबुकमार्फत सार्वजनिक गरेका छन् । भेपमा लुकाएर नौ किलो सुन तस्करी भएको प्रहरीले जनाएको छ । गत वर्ष उक्त घटना भएको थियो ।
सीआईबीका एसएसपी आचार्य हङकङ प्रस्थान
हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक जना उच्च अधिकृत आज हङकङ प्रस्थान गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई आवश्यक अनुसन्धानका लागि आज हङकङ पठाइएको जानकारी दिए ।
हङकङबाट ब्रेक शुमा हालेर ६० किलो सात सय १६ ग्राम सुन गएको साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।



