काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ । भोलि र पर्सि गाईजात्रा हुने मार्गबारे जानकारी दिँदै महानगरपालिकाले ती रुटमा सवारी साधनको प्रवेश निषेध गरिएको जनाएको छ ।
गाईजात्रा हुने मार्गमा असनदेखि केलटोल, इन्द्रचोक, मखन, हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैशिदेव, ज्याबहाल, लगन चोक, गोफल, ब्रह्मटोल, वन्डे, ह्युमत, जैशिदेव, कोहिटि, भिमसेनस्थान, मरु टोल, प्याफल, ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी, टेंगल, न्हयोखा, बांगेमुढा, न्हैकन्तला, असन, कमलाछि र भोताहिटि हुँदै असनसम्मको मार्ग बन्द रहनेछन् ।
महानगरका अनुसार जात्रा हुने भदौ १४ गते बिहीबार र १५ गते शुक्रबार यी बाटोहरु बन्द हुनेछन् भने सूचनामा उल्लेख भएअनुसार जात्रा हुने मार्गहरुबाट प्रवेश हुने सबै प्रकृतिका सवारी साधनहरुलाई उक्त दिन प्रवेश गर्न निषेध गरिएको छ ।
दिवंगत पितृहरूको सम्मान तथा मुक्तिका लागि गाईजात्रा पर्व मनाइने गरिन्छ । काठमाडौं उपत्यकामा नेवार समुदायले यो पर्वलाई दुई दिनसम्म मनाउँछन् ।





