काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन काठमाडौं अवतरण भएको हो ।
जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता जनकपुर जान लागेका थिए ।
सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरू जनकपुर हुँदै सिराहा जान लागेका थिए । बिहान ११ः३० बजे बस्ने बैठकको सबै तयारी गरिएको थियो ।
यसअघि भदौ ९ गते तय भएको सचिवालय बैठक वर्षाका कारण प्रतिकूल स्थिति सिर्जना भएकाले सारिएको थियो । सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले)ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथोँ महाधिवेशन गरेको थियो ।
उक्त महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो । त्यसको करिब ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बस्न लागेको छ ।



