काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओमा १ अर्ब ६३ करोड ३७ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बेलुकासम्म ७ लाख २२ हजार १ सय ५९ जनाले ७९ लाख ३१ हजार कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.५७ गुणा बढी आवेदन हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात भदौ १० गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७ सय ३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय ६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँड नभएको ७९ लाख ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३ सय ६ कित्ता शेयर निष्काशन गरेको हो ।
सोमध्ये २८ हजार ८ सय ५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १ सय ३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। कम्पनीले बाँकी रहेको १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँडफाँड गरेको हो।
उक्त आइपीओमा प्रतिकित्ता २ सय ६ रुपैयाँका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। कम्पनीले निष्काशन गरेको आईपीओमा आवेदन दिने भोली अन्तिम दिन हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।



