काठमाडौं । चालु आर्थिक बर्षको साउन (१ महिना) मा काठमाडौं महानगरपालिकाको ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपैयाँ राजस्व संकलन गरेको छ । गएको बर्ष (आर्थिक बर्ष २०७९/८०) को यसै अवधिमा ४५ करोड ९ लाख ८९ हजार ३ सय ३६ रुपैयाँ राजस्व संकलन भएको थियो । गएको बर्षभन्दा यस बर्षको पहिलो महिनामा २० करोड ३२ लाख ४१ हजार ४३ रुपैयाँ धेरै राजस्व संकलन भएको हो ।
आर्थिक बर्ष २०७७/७८ देखिका बर्षहरुको राजस्व संकलनको अङ्क क्रमशः बढ्दो क्रममा छ । त्यस बर्ष (आर्थिक बर्ष २०७७/७८) को पहिलो महिनामा २६ करोड ३९ लाख ५३ हजार ७ सय १६ रुपैयाँ र आर्थिक बर्ष २०७८/७९ को पहिलो महिना (साउन) मा ४३ करोड ५३ लाख ४३ हजार ९ सय ७१ रुपैयाँ संकलन भएको थियो ।
पहिलो बर्षभन्दा यो १७ करोड १३ लाख ९० हजार रुपैयाँ धेरै हो । आर्थिक बर्ष २०७८/७९ को तुलनामा आर्थिक बर्ष २०७९/८० को पहिलो महिनामा १ करोड ५६ लाख ४५ हजार ३ सय ६५ रुपैयाँ धेरै राजस्व संकलन भयो ।
यी ४ बर्षमध्ये सबैभन्दा धेरै यही बर्ष संकलन भएको हो । यस बर्ष सम्पत्ति, बहाल तथा पट्टावापतको आयमा लाग्ने कर, साना सवारी साधन कर, बाँडफाँड भइ प्राप्त हुने मूल्य अभिवृद्धि कर, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर संकलन भएको छैन । यस्तै वित्तिय निकायबाट प्राप्त हुने व्याज रकम प्राप्त भएको छैन ।
प्राप्त राजस्वमध्ये सबैभन्दा धेरै घर बहाल करबाट ३१ करोड ६० लाख १८ हजार २ सय २८ रुपैयाँ प्राप्त भएको छ । यसपछि ठूलो रकम प्राप्त हुने शीर्षक सम्पत्ति कर हो । यस शीर्षकमा १२ करोड ५८ लाख ४८ हजार ७ सय ७३ रुपैयाँ प्राप्त भएको छ ।
अन्य राजस्व शीर्षकहरुमा भूमिकर, व्यक्तिगत आन्तरिक अनुदान, सेवा शुल्क, न्यायिक दस्तुर, नक्सा पास दस्तुर, पार्किङ् शुल्क, शिफारिस दस्तुर लगायत छन् । यस्तै प्रशासनिक दण्ड, जरिवाना र जफत, पर्यटन शुल्क, धरौटी सदरस्याहा, बेरुजु लगायत हुन् ।राजस्व संकलनमा यो बर्ष प्राप्त भएको उपलब्धीका लागि केही प्रयासहरु कारण हुन् ।
राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्ले भने, ‘वडा सदस्यको नेतृत्वमा हरेक वडामा कर सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । राजस्व विभागले बेरुजु फस्र्यौट तथा वक्यौता असुली अनगुमन गरिरहेको छ । कर परीक्षण कार्य चलिरहेको छ ।’



