काठमाडौं । भगवती हाइड्रोपावरले भदौ ५ गतदेखि सर्वसाधारणका लागि निष्काशन गरेको शेयरमा १३ लाख बढीले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ः०५ बजेसम्ममा १३ लाख ८८ हजार १ सय १५ आवेदकले १ करोड ५३ लाख ३ हजार ६ सय ५० कित्ताको लागि आवेदन दिएका हुन्। यो मागभन्दा २१.४८ गुणा बढी आवेदन हो ।
कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
सोमध्ये ८५ हजार ८ सय १० कित्ता शेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ४२ हजार ९ सय ५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाडँफाँट गरिसकेको छ भने १७ हजार १ सय ६२ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख १२ हजार २ सय २० कित्ता शेयरका लागि आवेदन दिने व्यवस्था थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।



