images
images

ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती लिने गिरोह पक्राउ


  • 634
    SHARES
  • २०८० भाद्र ८ गते शुक्रबार

    ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती लिने गिरोह पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत जेठ १२ गते नेपालबाट ‘सिजनल भिषा’मा वैदेशिक रोजगारीका क्रममा सर्बिया गएका तीन नेपालीलाई बन्धक बनाएर रकम फिरौती माग्ने ४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौंका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलबासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन् । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले सर्बियामा गएका पीडितले चित्त बुझ्दो रोजगार तथा तलब सुविधा नपाएपछि लुकीछिपी ग्रीस प्रवेश गर्न खोज्दा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानीले अपहरण गरी डोरीले बाँधेर शारीरिक तथा मानसिक यातना र डर त्रास देखाइ ज्यान मार्ने धम्की दिइ फिरौती १५ हजार मागेकाले पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउ परेका कुँवर नेपालमा फिरौती रकम लिने, अर्याल नेपालमा फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क गर्ने, बेलबासे दुबईबाट नेपालमा  कुँवरलाई फिरौती रकम लिन लगाउने र थापा दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनी सम्पर्क गर्न भूमिका खेलेको प्रहरीको अनुसन्धानमा खुलेको प्रवक्ता अधिकारीले बताए ।

    प्रहरीले ग्रीसमा बन्धक बनाइ राखेका पीडितलाई सकुशल उद्धार गरेको छ । पक्राउ चारै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिआइबीले वैदेशिक रोजगारीका लागि विदेश जाँदा सरकारको श्रम स्वीकृति भएको देशमा मात्र आवश्यक कानूनी प्रक्रिया पूरा गरी जान अनुरोध गरेको छ । 


    images
    images

    Logo