images
images

भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध


  • 596
    SHARES
  • २०८० भाद्र ८ गते शुक्रबार

    भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    काठमाडौं । भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम पूर्ण रुपमा अवरुद्ध भएको हो ।

    सडक अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङलगायत स्थानमा छुटेका मालवाहक तथा सवारीसाधान सडकमा ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् । अहिले पनि  भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए।

    बाढीले करिब २ सय मिटर कालोपत्रे सडकमा क्षति पुर्‍याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उनले बताए । बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उनको भनाइ छ । 

    “केही दिन भयो दिनदिनै पानी परी राखेको छ, हिजोदेखि ठूलो वर्षा भएको छ, यो खोलामा बाढी आइ राखे पनि गाडी जसोतसो पन्छाउँदै ओहोरदोहोर गर्थे, आज त ठूलै बाढी आएको छ”, अध्यक्ष पौडेलले भने, “वर्षा नरोकिएसम्म सडक खुलाउन सकिने सम्भावना कम छ, खोलामा लेदोसहितको बाढी आइ राखेको हुँदा सडकमा अझै धेरै क्षति पुर्याउने देखिन्छ ।”

    यस खण्डको खाडुखोलामा पनि बाढी आउँदा यातायात सञ्चालनमा समस्या भएको छ । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक ठप्प भएको उनको भनाइ छ ।


    images
    images

    Logo