images
images

चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत


  • 461
    SHARES
  • २०८० भाद्र ८ गते शुक्रबार

    चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत

    काठमाडौं । चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालका अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ५५ औं वैठकले ल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानी भेरी जलविद्युत् परियोजनाका लागि सो बराबरको रकम स्वीकृत गरेको हो । 

    बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकास क्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि ‘डोल्मा हिमालयन इनर्जी’लाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ । साथै, बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता ‘राईजेन इनर्जी कम्पनी’ बाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीका लागि लिएको छ ।

    बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त, बोर्डको बैठकले ग्रिन क्याल्सियम एमोनियम निटरेट फर्टीलाइजर फ्याक्ट्री स्थापन सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित रिनिकोलासँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।

    बैठकमा प्रधानमन्त्री दाहालले आगामी दिनमा जलविद्युत् परियोजनाहरूको लागत निर्धारण गर्दा ब्यांकेबल हुने गरी थप अध्ययन÷विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति तथा परियोजना कार्यान्वयनमा रहेका प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।


    images
    images

    Logo