images
images

साउनमा ५५ हजारले लिए श्रम स्वीकृति, सवैभन्दा धेरै यूएईका लागि 


  • 558
    SHARES
  • २०८० भाद्र ८ गते शुक्रबार

    साउनमा ५५ हजारले लिए श्रम स्वीकृति, सवैभन्दा धेरै यूएईका लागि 

    काठमाडौं । साउन महिनामा बैदेशिक रोजगारीमा जानका लागि ५५ हजार बढीले श्रम स्वीकृति लिएका छन् । बैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनमा नयाँ श्रम स्वीकृति, पुनः स्वीकृति र व्यक्तिगत गरी कुल ५५ हजार ५ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् । आर्थिक बर्ष २०७९/८० साउनको तुलनामा ७ हजार ४ सय ६४ जना कम हो ।

    आर्थिक बर्ष २०७९/८० को साउन महिनामा ६३ हजार ३९ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा ७ लाख ७१ हजार ३ सय २७ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । यस बर्ष साउनमा मात्र ३९ हजार १ सय ५२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

    वैदेशिक रोजगार व्यवसायीमार्फत २९ हजार २ सय २४ र व्यक्तिगतमा ७ हजार ५ सय ६८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्‍क छ । जीटूजी मार्फत २ हजार ३ सय ६० जना विदेश गएका छन् । यो सबै दक्षिण कोरिया गएको संख्या हो । साउनमा श्रम स्वीकृति लिनेमध्ये महिलाको संख्या ७ हजार ७ सय २५ जना रहेको छ । जसमध्ये कोरियामा मात्र १ सय ३५ जना महिला विदेशिएका छन् ।

    साउनमा सवैभन्दा बढी दुवई अथात यूएईका लागि ११ हजार ८ सय ७८ जनाले स्वीकृति लिएका छन् । त्यस्तै, कतारका लागि १० हजार ५ सय ५१ जनाले स्वीकृति लिएका छन् भने साउदी अरवको लागि १० हजार ३० जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतमा ३ हजार ७ सय १७ जना नेपाली साउनमा पुगेका छन् । दक्षिण कोरियामा २ हजार ४१४ जना पुगेका छन् ।

    केही वर्ष अगाडिसम्म अदक्ष कामदारको बाहुल्य रहेकोमा अब भने केही न केही काम सिकेर विदेश जाने नेपालीको संख्या उल्लेख्य देखिन थालेको छ । साउनमा श्रम स्वीकृति लिएकामध्ये केही न केही काम सिकेर विदेश जाने नेपालीको संख्या ३८ हजार ७ सय ४५ जना रहेको छ । अदक्ष कामदारको संख्या १२ हजार २ सय ४८ जना रहका छन् । ‘सेमी स्कील्ड’ ४ हजार ४ सय ६४ जना, प्रोफेसनल ८१ जना र  ‘हाइ स्कील्ड’ ३७ जना श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।


    images
    images

    Logo