काठमाडौं । प्रतिनिधिसभामा यही भदौ १२ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा वैठकमा सभामुख देवराज घिमिरेले भदौ १२ गते प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम तय गरिएकोबारे बताएका हुन् ।
प्रतिनिधिसभा नियमावलीको परिच्छेद– ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम सम्बन्धी व्यवस्था छ । प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था नियमावलीमा छ । सोही अनुसार भदौ १२ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो ।
उक्त नियमावलीको नियम ५८ बमोजिमका प्रश्न सोध्न सक्ने घिमिरेले बताए । उक्त प्रश्नोत्तर कार्यक्रममा आफ्ना प्रश्न राख्न भदौ ८ गते शुक्रबार बेलुकासम्म प्रतिनिधिसभाको सचिवलाई लिखित रुपमा प्रश्न गराउनुपर्नेबारे समेत सभामुखले जानकारी दिए ।



