काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई अध्यागमन विभागबाट हटाएर मन्त्रालयकै वरण्डा शाखामा राखेको छ । सुन काण्डमा नाम आएका चिनियाँ नागरिक दावा छिरिङसँगको च्याट सार्वजनिक भएपछि मन्त्रालयले अधिकारीलाई अतिरिक्त समूहमा रहनेगरि मन्त्रालयमा सरुवा गरेको हो ।
उनलाई मन्त्रालयमा तानेर आन्तरिक छानबिन थालिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका एक अधिकृतका अनुसार सुन तस्कर दावासँग कनेक्सन रहेको सम्बन्धमा अधिकारीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिआइबीको छानबिनमा रहेका अधिकारीले सुन तस्कर दावासँग विभिन्न समयमा वीच्याट मार्फत ठुला–ठुला डिलहरू गरेको र दावालाई सघाउ पुर्याएको यथेष्ट प्रमाणहरू फेला परेको सिआइबीका अनुसन्धान अधिकृतहरूले जनाएका छन् ।



